श्रीमतीको क्यान्सर उपचारपछि स्वास्थ्य सुधारोन्मुख : गायक हेमन्त शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

https://upload.wikimedia.org/wikipedia/commons/2/2e/Hemant_singer.jpg
https://artistnepal.com/uploads/2025/05/Hemant-Sharma-is-a-renowned-Nepali-singer-songwriter-and-musician-artistnepal-4-.jpg
https://www.lensnepal.com/files/profiles/hemanta-sharma.jpg

4

नेपाली गायक हेमन्त शर्माले आफ्नी श्रीमती रितुको स्तन क्यान्सरको उपचारका विभिन्न चरण पूरा भएपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शर्माले क्यान्सर उपचार नेपालमै प्रभावकारी रूपमा सम्भव रहेको पनि उल्लेख गरेका छन्।

उनका अनुसार नेपाल क्यान्सर अस्पतालमा गरिएको उपचार अन्तर्गत ८ चरण किमोथेरापी, डबल मास्टेक्टोमी (दुवै स्तनको शल्यक्रिया) तथा १५ सत्र रेडिएसन थेरापी पूरा गरिएको छ। उपचारपछि अहिले श्रीमतीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनले बताएका छन्।

उपचार सुरु भएपछि धेरैले भारतको दिल्ली गएर उपचार गर्न सुझाव दिएको उनले उल्लेख गरे। तर पारिवारिक सल्लाह, नेपालमै उपलब्ध उपचार सेवा तथा आफ्ना परिस्थितिलाई ध्यानमा राखेर नेपालमै उपचार गर्ने निर्णय गरिएको शर्माको भनाइ छ।

उक्त उपचार डा. सुदीप श्रेष्ठको निगरानीमा रहेको चिकित्सक टोलीले गरेको थियो।

उपचार सुरु गर्नु अघि पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाही र काठमाडौं क्यान्सर सेन्टरका डा. आविश अधिकारीसँग लिएको प्रारम्भिक परामर्श पनि महत्वपूर्ण रहेको उनले बताएका छन्।

हाल उपचारको मुख्य चरण पूरा भए पनि नियमित फलोअप, दीर्घकालीन औषधि सेवन र चिकित्सकीय निगरानी भने जारी रहने शर्माले जानकारी दिएका छन्।