काठमाडौँ – मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका १५ पर्यटकहरू उद्धार गरिएको छ। नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले तीन दिनको प्रयासपछि कात्तिक १४ गते उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ।
सेनाका अनुसार, उद्धार गरिएका पर्यटकहरू हिडन भ्यालीको करिब ४,९०० मिटर उचाइको बतासे डाँडामा फेला पारिएका थिए। उनीहरूको स्वास्थ्य सामान्य रहेको छ।
उद्धारको क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सहितको संयुक्त टोलीले काम गरेको थियो। उद्धार पश्चात् उनीहरूलाई जोमसोमसम्म सुरक्षित ल्याउने कार्य भइरहेको छ।
सेनाले पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रमा सुरक्षित राख्न र आपतकालीन अवस्थामा छिटो उद्धार गर्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।









प्रतिक्रिया