नेपाली कांग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् ।
संसद् बैठकमा सम्बोधन गर्दै उनले ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बन्नु जनताप्रतिको विश्वासघात भएको टिप्पणी गरे ।
परियारले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गराउँदै भने,
‘अगामी २१ फागुनको निर्वाचनका लागि ३० जनाभन्दा बढी प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका छन् । संविधानले तोकेको पाँच वर्षे कार्यकाल बिर्सेर उनीहरूले जनतासँग गरेको वाचा र शपथलाई बेवास्ता गरेका छन् । यो भगौडा र धोकेबाज प्रेमीजस्तै व्यवहार हो ।’
जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको उनको भनाइ छ । राजीनामाका कारण पुनः उपनिर्वाचन गराउनुपर्दा राज्यको ढुकुटीमा करोडौँ रुपैयाँको अतिरिक्त भार परेको उनले बताए ।
जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न विद्यमान कानुनमा संशोधन आवश्यक रहेको भन्दै उनले सरकार र संसदको ध्यानाकर्षण गराए ।
‘जनताको जनादेश बिर्सेर जिम्मेवारी नसकिँदै भाग्ने भगौडा राजनीतिलाई रोक्न कानुनी व्यवस्था थप कडा बनाउनुपर्छ,’ उनले जोड दिए ।







प्रतिक्रिया