काठमाडौं, १४ कात्तिक — विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित देशबाटै मतदान गर्न पाउने कानुनी व्यवस्था गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ। उक्त प्रस्तावमाथि निर्वाचन आयोग हाल विस्तृत छलफलमा जुटेको छ।
आयोगका अधिकारीहरूका अनुसार गृहको प्रस्तावप्रति आयोग सकारात्मक छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्न चार वटा प्रचलित ऐन संशोधनका मस्यौदा आयोगमा आएको जानकारी दिए।
संशोधन गर्न प्रस्ताव गरिएका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, र निर्वाचन कसुर तथा सजाय ऐन रहेका छन्। यी ऐनहरू संशोधन भइसकेपछि विदेशमा रहेका नेपालीले बसोबास गरेको देशमै मतदान गर्न सक्ने कानुनी आधार तयार हुनेछ।
तर कुन देशका नेपालीलाई यो सुविधा दिइने, खर्च र सुरक्षाको व्यवस्था कसरी गरिने भन्ने विषयमा भने विस्तृत छलफल बाँकी छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार कानुनी व्यवस्था भएपछि प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइनेछ।
गृह मन्त्रालयका सहसचिव एवं कानुन महाशाखा प्रमुख भरतमणि रिजालले पनि निर्वाचन आयोगको प्रतिक्रिया आएपछि छलफललाई अघि बढाउने बताएका छन्। कानुनी प्रबन्ध बनेपछि विदेशस्थित नेपालीको मतदाता नामावली संकलनदेखि मतदान केन्द्रको व्यवस्थापनसम्म निर्वाचन आयोगकै कार्यविधि अनुसार सञ्चालन हुने गृह मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया