सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ थारू समुदायको बाहुल्य क्षेत्र हो । यहाँ विगतदेखि नै थारू नेताहरूबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक पनि थारू समुदायका अनुभवी नेताहरूबीच नै मुख्य भिडन्त हुने देखिएको छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । उनलाई टक्कर दिन नेकपा एमालेले थारू समुदायकी नेतृ भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । गच्छदार र चौधरीबीचको यो प्रतिस्पर्धा चौथो पटक हो । क्षेत्रबाट २२ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा यी दुईबीच नै हुने आकलन गरिएको छ ।
अन्य दलतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अशोक चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार विश्वास र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट घनश्याम गुरुङ उम्मेदवार छन् ।
२०४८ सालदेखि २०७४ सालसम्म यो क्षेत्रमा गच्छदारको वर्चस्व रहँदै आएको थियो । तर २०७९ सालको संसदीय निर्वाचनमा भगवती चौधरीले उनको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै जित हात पारेकी थिइन् । यद्यपि जेन–जी आन्दोलनपछि संसद् विघटन भएकाले उनले पूरा कार्यकाल काम गर्न पाइनन् । यसपटक चौधरी जित दोहोर्याउने प्रयासमा छिन् भने गच्छदार गुमेको विरासत फर्काउने दाउमा छन् ।
१२ पटकसम्म मन्त्री भइसकेका गच्छदारले शिक्षा, स्वास्थ्य, यातायात र कृषिमा उल्लेखनीय विकास गरेको दाबी गर्दै पुनः मतदाताको घरदैलोमा पुगेका छन् । तर स्थानीय मतदाताहरूले भने प्रभावशाली नेता जिताएर पठाउँदा पनि अपेक्षित विकास नदेखिएको गुनासो गर्दै आएका छन् ।
बर्जुका स्थानीय खड्ग उरावका अनुसार गच्छदारले पटक–पटक जितेर मन्त्री र उपप्रधानमन्त्री भए पनि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सकेनन् । उनका अनुसार सडक सञ्जालको अवस्था नाजुक छ, सामुदायिक विद्यालयहरूको हालत कमजोर छ र सिँचाइ आयोजनाको विस्तार भए पनि किसानले समयमै पानी, मल र बीउ पाउन सकेका छैनन् । उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि दीर्घकालीन कृषि योजना कार्यान्वयन हुन नसकेको उनीहरूको गुनासो छ ।
राजनीतिक यात्रामा गच्छदारले कांग्रेस छाडेर मधेशी जनाधिकार फोरम हुँदै लोकतान्त्रिक जनाधिकार फोरमको नेतृत्व गरेका थिए । २०७४ सालमा पुनः कांग्रेसमा फर्किएका उनी त्यस निर्वाचनमा झिनो मतान्तरले विजयी भएका थिए । तर २०७९ सालमा भने करिब पाँच हजार मत अन्तरले भगवती चौधरीसँग पराजित भए ।
चौधरीले आफूले पूरा कार्यकाल काम गर्न नपाए पनि यस क्षेत्रका पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी मुद्दा सरकारको योजनामा समेट्न सफल भएको दाबी गर्दै आएकी छिन् ।
यसरी, सुनसरी–३ मा यसपटक पनि पुराना प्रतिद्वन्द्वीबीचको प्रतिस्पर्धाले चुनावी माहोल रोचक बनेको छ ।







प्रतिक्रिया