मतदातासँग ‘कसलाई भोट हाल्नुहुन्छ?’ सोध्न नपाइने भन्दै झापा प्रशासनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ गते हुने निर्वाचनका क्रममा मतदातासँग कसलाई मत हाल्नुहुन्छ भनेर सोध्न निषेध गरेको छ।

सूचना जारी गर्दै प्रशासन कार्यालयले फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमार्फत केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भनेर प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गरिरहेको जनाएको छ। यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) विपरीत रहेको भन्दै सूचना जारी भएपछि पनि यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बनेपछि उक्त क्षेत्र यस निर्वाचनको केन्द्रबिन्दु बनेको छ। यही कारण विभिन्न सञ्चारमाध्यम झापा पुगेर मतदातासँग मतदान सम्बन्धी सोधपुछ गर्न थालेपछि प्रशासनले सचेत गराउँदै सूचना प्रकाशित गरेको हो।