निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ। शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिसकेको आयोगले आइतबार र सोमबार गरी थप नौ जनालाई स्पष्टीकरण सोधेको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई धम्की दिएको उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो। थापालाई तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिइएको छ।
यसैगरी, निर्वाचन उम्मेदवारलाई लक्षित भ्रामक तथा अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गरेको आरोपमा विभिन्न व्यक्ति र सञ्चारमाध्यमविरुद्ध कारबाहीका लागि आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रो पटक स्पष्टीकरण सोधेको छ। सादा पोसाकका प्रहरीले शाहका लागि भोट मागिरहेको देखिने भिडियो प्राप्त भएपछि आयोगले उनीसँग जवाफ माग गरेको हो। निर्वाचन प्रचारप्रसारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको दृश्य उक्त भिडियोमा देखिएको आयोगको भनाइ छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिता विपरीत प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेको आरोपमा पनि स्पष्टीकरण सोधिएको छ।
आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई समेत स्पष्टीकरण सोधेको छ। हालसम्म आयोगले सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको प्रवक्ता जिसीले जानकारी दिए।







प्रतिक्रिया