मेयर गोपाल हमालः ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी — धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पार्टी नभई जनता रोजेको बताएका छन्। सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै मेयर हमालले लेखेका छन्, ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ।’

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका हमाल हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन्।

स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका अन्य मेयरहरू भने पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय भएका छन्। काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बनेका छन् भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गरी सुनसरी–१ बाट उम्मेदवारी दिएका छन्। दुवैले मेयर पदबाट राजीनामा दिएर संघीय निर्वाचनमा होमिएका बेला हमाल भने उपमहानगरपालिकाको जिम्मेवारीमै केन्द्रित छन्।

स्थानीय तह निर्वाचनमा मेयर हमालले नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका थिए। हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत ल्याएका थिए। तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।