अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ५२ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी चैत ११ गते हुने राष्ट्र बैंकले जनाएको छ।

यसको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित कुल रकमबराबर बोलकबोल गर्न पाउनेछन्।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तुत गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।