वीरगन्ज नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन आयात, ३१ प्रतिशतले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सात अर्ब ६४ करोड रुपैयाँ बराबरका सात थरिका दलहनजन्य खाद्यान्न आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३१ प्रतिशतले बढी हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच अर्ब ८३ करोड रुपैयाँ बराबरको दलहन आयात भएको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी तीन अर्ब ८२ करोड रुपैयाँ बराबरको मुसुरो दाल आयात भएको छ। त्यस्तै, एक अर्ब १७ करोड मूल्यको सिमी/राज्मा र एक अर्ब १४ करोड रुपैयाँ बराबरको चना आयात भएको छ।

यस अवधिमा एक अर्ब रुपैयाँ बराबरको अन्य गेडागुडी, २७ करोडको रहर दाल, १६ करोड मूल्यको केराउ तथा पाँच करोड १० लाख रुपैयाँ बराबरको बकुल्ला आयात भएको भन्सार कार्यालयले जनाएको छ।