आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धाबाट डा. बाबुराम भट्टराई पछि हटेपछि उनको दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्य दलको समर्थन दबाबमा परेको छ। प्रतिस्पर्धी दलहरूले सहयोगका लागि दबाब बढाएपछि प्रलोपाले छलफलका लागि ‘राजनीतिक संवाद समिति’ गठन गरेको छ।
गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रलोपाका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि प्रत्यक्षतर्फ पार्टी उम्मेदवारविहीन बनेको छ। गोरखा–२ बाट डा. भट्टराई र गोरखा–१ बाट गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन्। यससँगै प्रत्यक्षतर्फ प्रलोपाले कसलाई सहयोग गर्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।
समर्थनबारे विभिन्न अड्कलबाजी बढेपछि प्रलोपाले विज्ञप्ति जारी गर्दै हालसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ। ‘उपयुक्त’ उम्मेदवारलाई सहयोग गर्ने निर्णय पार्टीले परिस्थिति अनुसार गर्ने जनाएको छ।
प्रलोपा गोरखा जिल्ला इन्चार्ज यानप्रसाद भट्टका अनुसार अन्य दलबाट दबाब आए पनि पार्टी सबैलाई समान व्यवहार गर्ने अडानमा छ। दलहरूसँग संवादका लागि भट्ट नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरिएको छ।
प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुपातिकतर्फ प्रलोपाकै चुनाव चिह्नमा मतदान गर्न पार्टीले आग्रह गरेको छ। साथै, दुवै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरिएको छ—क्षेत्र नम्बर १ मा यानप्रसाद भट्ट र २ मा नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय समिति बनाइएको छ।







प्रतिक्रिया