कपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने र विदेशी योजनाअनुसार कठपुतली सरकार ल्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भइरहेको छ। भविष्यलाई समेत त्यसलाई निरन्तरता दिन जिल्ला स्तरमा चुनावी अभियान अगाडि बढाउने योजना भएको छ।”
उनले दाबी गरे कि केही शक्ति राष्ट्रहरूले भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्ने प्रयास गरिरहेको भए पनि नेकपा एमालेले त्यसलाई सफल हुन नदिने छ। पोखरेलले भने, “हामी दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध शक्ति राष्ट्रहरूको चलखेलमा नेपालको भूमि प्रयोग हुन नदिने, मुलुकको स्वाभिमान, स्वाधीनता र राष्ट्रिय हितलाई मजबुत बनाउन योजनासहित अगाडि बढिरहेका छौं।”
महासचिव पोखरेलले आउँदो निर्वाचनलाई जनमत संग्रह जस्तो महत्वपूर्ण र विशिष्ट अवस्था भएको बताए। उनले भदौ २३–२४ का घटनालाई उदाहरण दिँदै भने, “जनजी आन्दोलनलाई अपहरण गरी मुलुकलाई भूराजनीतिक चक्रव्यूहमा पार्ने षड्यन्त्र अन्तर्गत यी सबै घटना गराइएको हो।”
उनले मुलुक प्रतिगमनतर्फ गएको, संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताउँदै, निर्वाचनपछि पनि विदेशी योजनाअनुसार कठपुतली सरकार ल्याउने प्रयास भइरहेको बताएका छन्।







प्रतिक्रिया