काठमाडौँ । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयसीमा २०८३ चैत मसान्तमै सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त समयसीमाअनुसार आयोजना समयमै सक्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ ।
फास्ट ट्र्याकमा कुल १०.९७९ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा लेनडाँडाको १.६२६ किलोमिटर र धेद्रे सुरुङको १.६९१ किलोमिटरमा ब्रेक थ्रु भइसकेको छ भने महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस आयोजनाअन्तर्गत निर्माण हुनुपर्ने ८९ वटा पुलमध्ये १३ वटा पुल सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का लागेर निर्माण कार्य सुरु भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
फास्ट ट्र्याक निर्माणका क्रममा ५४ हजार रुख कटान गरिएको र त्यसको क्षतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजार बिरुवा रोपिएको छ । तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
यसैबीच, खोकना क्षेत्रसँग सम्बन्धित विवाद भने अझै समाधान हुन नसकेको र सबै सम्बन्धित निकायबाट समाधानका प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ ।







प्रतिक्रिया