काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ ।
माघ ४ गते राति १२ बजेदेखि लागू भएको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी उजुरी संकलन, जानकारी लिने तथा उल्लङ्घनमा संलग्न राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था र पदाधिकारीसँग स्पष्टीकरण सोध्ने कार्य आयोगले निरन्तर गरिरहेको छ । माघ १४ गतेसम्म २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटा जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको आयोगले जानकारी दिएको छ ।
निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको र त्यसअनुसार बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको आयोगले जनाएको छ ।
जिल्लास्तरमा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन निर्वाचन आयोग ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन तथा निर्वाचन आचारसंहिता अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई फरक–फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
यसैगरी, निर्वाचन आचारसंहिताविपरीत मिथ्या वा भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको निगरानीका लागि आयोगअन्तर्गत निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको छ । सो इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनाहरू कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।
निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठ्ने गतिविधि देखिएमा आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयहरूमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ ।







प्रतिक्रिया