टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धात्मक टेनिसमा फिर्ता हुने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेकी छैनन्। तर, पुनरागमनबारे स्पष्ट निर्णय भने नदिएको उनले बताएकी छन्।
एक टेलिभिजन कार्यक्रममा बोल्दै ४४ वर्षीया सेरेनाले भनिन्, “मलाई थाहा छैन। के हुन्छ भनेर हेर्न जाँदैछु।” उनको यो भनाइले पुनरागमनको सम्भावना खुला रहेको संकेत गरे पनि ठोस योजना नरहेको देखिन्छ।
दुई सन्तानकी आमा सेरेनाले सन् २०२२ को युएस ओपनमा तेस्रो चरणबाट बाहिरिएपछि कुनै पनि प्रतियोगिता खेलेकी छैनन्। यद्यपि, उनले गत डिसेम्बरमा टेनिस एन्टि–डोपिङ परीक्षण पुलमा पुनः प्रवेश गरेकी थिइन्। तर यसलाई अनिवार्य रूपमा पुनरागमनको संकेतका रूपमा लिन नमिल्ने बताइएको छ।
यसैबीच, सेरेनाकी दिदी तथा टेनिस स्टार भेनस विलियम्सले ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपन खेलेकी थिइन्, जहाँ उनी पहिलो चरणमै बाहिरिइन्। भेनसले जुलाईमा पुनरागमन गर्दै अकल्यान्ड र होबार्ट प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।
पूर्व विश्व नम्बर एक टेनिस खेलाडी जिम कुरियरका अनुसार एन्टि–डोपिङ परीक्षण पुलमा रहनु खेलाडीका लागि चुनौतीपूर्ण हुन्छ र सबै परीक्षण पूरा नगरी प्रतियोगितामा फर्कन अनुमति दिइँदैन। उनले भने, “सेरेनाले डिसेम्बरमा फर्किने कुरा अस्वीकार गर्नुभएको थियो, तर यदि उहाँ घाइते हुनुहुन्न भने फिर्ता खेल्ने सम्भावना अझै बाँकी छ।”
टेनिसप्रेमीहरू भने सेरेनाको सम्भावित पुनरागमनको प्रतीक्षामा रहेका छन्।







प्रतिक्रिया