किमाथाङ्का (सङ्खुवासभा) । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गरेको आरोपमा यहाँका तीन जना सरकारी कर्मचारीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।
सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेका अनुसार सामाजिक सञ्जालमार्फत दलका उम्मेदवारको प्रचार गर्दै भोट मागिएको उजुरीका आधारमा ती कर्मचारीसँग लिखित स्पष्टीकरण लिइएको हो। कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन।
आचारसंहिता विपरीत गतिविधि पुनः दोहोरिएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, ती कर्मचारीलाई निर्वाचन कार्यमा नखटाउने निर्णयसमेत गरिएको सहायक निर्वाचन अधिकृत न्यौपानेले बताए।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन्। जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन्। यहाँ तीन महिलासहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन्।
जिल्लामा आठ अति संवेदनशील, ८२ संवेदनशील र १९ सामान्य मतदानस्थल रहेका छन्।







प्रतिक्रिया