राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजी एजेन्डासहित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीलाई मुख्य एजेन्डा बनाउँदै प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको छ। बुधबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष चित्रबहादुर केसीसहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज, राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा जस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। उनले अघिल्ला सरकारहरू सत्तामा रहँदा पार्टीका उद्देश्य पूरा हुन नसकेको आरोप लगाउँदै संसद् विघटन गरी एनजिओ–आइएनजिओका व्यक्तिहरूलाई सरकारमा ल्याएर चुनाव गराउन खोजिएको दाबी गरे।

केसीले समयमै निर्वाचन नहुने विश्वासका साथ सरकारमा गएकाहरू पछि आफ्नै स्वार्थ हेरेर राजीनामा दिँदै चुनावमा होमिएको टिप्पणी गरे। अहिले नेपाल राष्ट्र र नेपाली जनतामाथि गम्भीर संकट देखिएको र राष्ट्रियता नै चुनौतीमा परेको उनको भनाइ छ।

हरेक निर्वाचनपछि मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरू सत्तामा पुग्ने गरेको उल्लेख गर्दै यसपटक जनताले गम्भीर भएर देशका लागि काम गर्ने प्रतिनिधिलाई सदनमा पठाउनुपर्नेमा उनले जोड दिए। पार्टी पनि निर्वाचनमा सहभागी भएकाले राष्ट्रिय जनमोर्चालाई मत दिन उनले मतदातासमक्ष अपिल गरे।