श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारमा बालबालिका प्रयोग नगरेको स्पष्ट पारेका छन्। बालबालिका प्रयोग गरिएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले मागेको लिखित जवाफमा साम्पाङले आरोप निराधार रहेको बताएका हुन्।
आयोगलाई पठाएको पत्रमा साम्पाङले आफूले कुनै अभिभावकलाई निर्देशन दिएर बालबालिका ल्याउन नलगाएको र न त बालबालिकालाई फकाएर, डरधम्की वा प्रलोभनमा पारेर प्रचारप्रसारमा प्रयोग गरेको उल्लेख गरेका छन्।
‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर कुनै काम अह्राएको छैन,’ उनले पत्रमा लेखेका छन्, ‘नियतबस कसैलाई प्रचारमा लगाइएको छैन।’
साम्पाङले सामाजिक सञ्जालमा देखाइएका श्रव्य–दृश्य सामग्रीहरू सबै सत्य नहुन सक्ने दाबी गर्दै प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले सामग्री बनाइएको हुनसक्ने बताएका छन्। बालबालिका प्रयोग गरेको आरोप गलत भएकाले आफू वा श्रम संस्कृति पार्टीमाथि कारबाही आवश्यक नरहेको उनको तर्क छ।
उनले निर्वाचन आयोगसँग उक्त विषयमा कुनै कारबाही नगर्न आग्रहसमेत गरेका छन्।









प्रतिक्रिया