खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित, दुई अन्तर्राष्ट्रिय उडान डाइभर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ। भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको थियो।

त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाज न्यूनतम आवश्यक भिजिबिलिटी नपुग्दा अवतरण गर्न नसकी डाइभर्ट गरिएका हुन्। उनका अनुसार ती जहाजलाई अवतरणका लागि बढी भिजिबिलिटी आवश्यक पर्ने भएकाले वैकल्पिक विमानस्थलतर्फ मोडिएको हो।

यस्तै, चीनबाट आएको चाइना साउदर्न एयरलाइन्सको विमान र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो। निगमको जहाज करिब आधा घण्टाभन्दा बढी समय होल्डमा बसेको थियो।

सिटौलाका अनुसार केही जहाजलाई अवतरणका लागि कम्तीमा २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा केही समयअघि भिजिबिलिटी २००० मिटरमा झरेको थियो, जसका कारण अवतरणमा समस्या आएको हो।

हाल मौसममा क्रमिक सुधार भएसँगै भिजिबिलिटी २५०० मिटर पुगेको र होल्डमा रहेका जहाजहरू अवतरण हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ। खराब मौसमका कारण आन्तरिक उडानहरू पनि केही समय प्रभावित भएका थिए।