सिन्धुली–२ मा नेकपाको बागी उम्मेदवारी फिर्ता नहुने, हरिबोल गजुरेल अडिग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले खडा गरेको बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले लिखित निर्देशन दिए पनि गजुरेलले उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका हुन्।

प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यका अनुसार पार्टीको नीति विपरीत बागी उम्मेदवार खडा गरिएकाले गजुरेल र उम्मेदवार महेश्वर दाहाल दुवैलाई प्रस्तावक र उम्मेदवारी फिर्ता लिन लिखित निर्देशन दिइएको थियो। केन्द्रको निर्देशनपछि कालीकोटमा बागी उम्मेदवार जीवन बुढाले उम्मेदवारी फिर्ता लिएको उदाहरण दिँदै उनले सिन्धुलीमा पनि समस्या समाधानको प्रयास भइरहेको बताए।

तर गजुरेलले कुनै पनि हालतमा पछाडि नहट्ने दाबी गर्दै महेश्वर दाहालको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। उनका अनुसार प्रचण्डबाट उम्मेदवारी फिर्ता गर्न पत्र आए पनि आफूहरूले आधिकारिक उम्मेदवार राजन दाहाललाई ब्याक गर्नुपर्ने जवाफ दिएको बताए।

सिन्धुली–२ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहाल बागी उम्मेदवार बनेका हुन्, जसका प्रस्तावक स्वयं गजुरेल हुन्। विवाद समाधानका लागि प्रचण्डले गजुरेललाई काठमाडौँ बोलाए पनि सहमति जुट्न सकेको छैन।

यसैबीच सुनसरी क्षेत्रका नेकपा केन्द्रीय सदस्यहरूले पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको भन्दै गजुरेलमाथि कारबाहीको माग गरेका छन्। २०७९ को निर्वाचनमा यही क्षेत्रबाट लेखनाथ दाहाल विजयी भएका थिए भने २०७४ मा हरिबोल गजुरेल सिन्धुली–२ बाट निर्वाचित भएका थिए।