समानुपातिकतर्फ डेढ करोड मतपत्र छापियो, अब प्रत्यक्षतर्फको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ डेढ करोड मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्ने काम सुरु गरिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबारसम्म डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए।

अब समानुपातिकतर्फ थप ५० लाख मतपत्र छाप्न बाँकी रहेको छ। उक्त काम पूरा भएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिने भट्टराईले बताए।

यसैबीच आयोगले मतदाता नामावली छपाइ गरेर सबै जिल्लामा पठाइसकेको जनाएको छ। उम्मेदवारी दर्ता प्रयोजनका लागि एक प्रति छपाइ गरिएको हो भने थप तीन प्रति छपाइ गर्ने तयारी भइरहेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जनाएको छ। उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकिएको छ भने मतपत्र पनि सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुने आयोगले जनाएको छ।