मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै छ । दिवसको अवसरमा प्रथम मधेश आन्दोलनका शहीद रमेश महतोको १९ औँ स्मृति दिवस पनि मनाइएको छ । यही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शहीद महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
आजकै दिन, ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको सहादत भएको थियो । लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहा मझौराका विद्यार्थी महतो तत्कालीन आन्दोलनको क्रममा मारिएका थिए । उनको निधनपछि मधेशभर आन्दोलन थप चर्किएको थियो ।
उक्त दिन तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायत नेताहरूले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । त्यसपछि भएको आन्दोलन र प्रहरी हस्तक्षेपको क्रममा रमेश महतोको ज्यान गएको थियो । यही कारण माघ ५ गतेलाई मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा पनि दिइएको छ । जसपा, जनमतलगायत मधेश केन्द्रित विभिन्न दलहरूले आज छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।







प्रतिक्रिया