भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि सर्वसाधारणका लागि खुल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भुजुङ हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ ल्याउन लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकिएको छ।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यसमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि माघ २६ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।