गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले आफ्नो हस्ताक्षरसहित सोमबार तामाङकी पत्नी मार्था एलीलाई शोकपत्र पठाउँदै प्रशान्तको निधनलाई अपूरणीय क्षति भएको बताएका छन्।

शोकपत्रमा मोदीले प्रशान्त तामाङको गायन र अभिनय कलाको उच्च प्रशंसा गर्दै लेखेका छन्,
‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयमार्फत प्रशान्त तामाङजीले मनोरञ्जनको दुनियाँमा विशिष्ट स्थान बनाउनुभयो। दृढ संकल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मानिसको मन जित्नुभयो। उहाँ अनगिन्ती मानिसका लागि प्रेरणाको स्रोत हुनुहुन्छ।’

प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरणा दिने उल्लेख गर्दै मोदीले दुःखको यस घडीमा परिवारजनलाई स्मृतिहरूले सान्त्वना दिने विश्वास व्यक्त गरेका छन्। साथै, परिवारका सदस्य र प्रशंसकहरूलाई यो कठिन समय सहन शक्ति र धैर्य प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्।

यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्त तामाङको निधनप्रति शोक व्यक्त गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत प्रशान्तको मधुर स्वर र प्रेरणादायी जीवन यात्राले धेरैको जीवनमा गहिरो छाप छाडेको उल्लेख गर्दै कोलकाता प्रहरीसँगको सम्बन्धका कारण उनी बंगालमा विशेष प्रिय रहेको बताएकी थिइन्।

प्रशान्त तामाङको आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीस्थित निजी निवासमा निधन भएको थियो। सोही दिन दीनदयाल अस्पतालमा पोस्टमार्टमपछि सोमबार उनको पार्थिव शरीर श्रद्धाञ्जली र अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ लगिएको थियो। उनको मंगलबार सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।