कांग्रेस विभाजन हुन दिँदैनौँ : नेता चन्द्र भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनका नाममा कांग्रेस फुट्न सक्ने आशंका व्यक्त भइरहे पनि आफूहरू पार्टी एकताका पक्षमा दृढ रहेको बताएका हुन्।

‘कांग्रेस फुट्छ कि भन्ने कुरा आइरहेको छ। तर, हामी पार्टी विभाजन हुन दिदैनौँ,’ भण्डारीले भने, ‘विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ, तर हामी त्यसलाई रोक्न तयार छौँ।’ उनले नेपाली कांग्रेसले विगतका अनुभवबाट पाठ नसिके भविष्य पनि सुरक्षित गर्न नसक्ने चेतावनी दिए।

भण्डारीले नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गर्दै चार महिनापछिको महाधिवेशनमा थप बलियो रूपमा प्रस्तुत हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरे। उनका अनुसार यसले पार्टीलाई आन्तरिक रूपमा मजबुत बनाउनेछ।

उनले पार्टी नेतृत्वले जेनजी आन्दोलनको भावना सम्बोधन गर्न नसकेको गुनासो पनि गरे। ‘जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह आउने थियो,’ उनले भने, ‘भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरिसकेपछि केन्द्रीय समितिले त्यसलाई ग्रहण गर्नुपर्ने थियो।’

विशेष महाधिवेशन पक्षधरको आवाजलाई नेतृत्वले बेवास्ता गरेको भन्दै भण्डारीले आपत्ति जनाएका छन्।