कप्तान रोहित पौडेलको अनुसार, यदि खेलाडीहरूले राम्रो प्रदर्शन गरे, नेपाल तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुने उत्कृष्ट अवसरमा छ। रोहितले नेपाली टिम अहिले राम्रो माइन्डसेटमा रहेको र विगतमा वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी-२० सिरिज जितेपछि टिममा आत्मविश्वास बढेको बताएका छन्। उनले भने, ‘नेपालले आफ्नो ब्राण्ड अनुसारको क्रिकेट खेल्यो भने विश्वकपमा पुग्न सक्छ।’
रोहितको कप्तानीमा ओमान पुगेका १५ सदस्यीय नेपाली टोली सन्तुलित छ। अलराउण्डरहरूले भरिएको टोलीका सबै पोजिसनमा सक्षम खेलाडीहरू छन्, जुन नेपालका लागि ठूलो प्लस प्वाइन्ट हो। तर ओमानी भूमिमा नेपालको विगत त्यति सुखद छैन। यसअघि टी-२० विश्वकप छनोट र एसिया कप छनोट खेल्दा नेपालले छनोट चरण पार गर्न सकेको थिएन।
यसपटक टी-२० विश्वकप छनोटको फर्म्याटमा केही फरक छ। त्यसैले हरेक खेल महत्वपूर्ण छ र कुनै पनि टिमलाई कमजोर मान्न मिल्दैन। दुई पटक विश्वकप खेलिसकेको नेपाली टोली लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा छ।
सन् २०२६ को टी-२० विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ। यसैले नेपालका लागि विश्वकपमा छनोट हुनु विशेष महत्व राख्दछ। एसिया क्षेत्रको छनोट संरचना यसपटक फरक छ। यस पटकको प्रतियोगितामा एसिया क्षेत्रका ६ टिम – ओमान, नेपाल, युएई, मलेसिया, कुवेत, कतार र इस्ट एसिया पेसिफिक (इएपी) क्षेत्रका ३ टिम – पपुवा न्यु गिनी, समाओ र जापान गरी कुल ९ टिम प्रतिस्पर्धा गर्दैछन्।









प्रतिक्रिया