संयुक्त अरब इमिरेट्स मा रहेको अमेरिकी मिशनले ‘सम्भावित हवाई खतरा’ सम्बन्धी चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मिशनले सामाजिक सञ्जालमार्फत जारी सूचनामा अवस्था नजिकबाट निगरानी भइरहेको जनाउँदै अमेरिकी नागरिकलाई स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा आश्रय लिन तयार रहन आग्रह गरेको छ।
यसअघि यूएईले देशभित्र इरान बाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोनले लक्षित गरेको जानकारी दिएको थियो, जसले सुरक्षा चिन्ता थप बढाएको छ।
अमेरिकी मिशनले यूएईका लागि आफ्नो ट्राभल एडभाइजरी ‘लेभल ३’ मा कायम राखेको छ, जसअनुसार नागरिकलाई ‘यात्रा पुनर्विचार गर्न’ सल्लाह दिइएको छ।
मिशनका अनुसार अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरू सञ्चालनमा रहेका छन्। तर गैर–आपतकालीन अमेरिकी सरकारी कर्मचारीहरूलाई यूएई बाहिर सारिएको जानकारी पनि दिइएको छ।
क्षेत्रीय सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।









प्रतिक्रिया