विराटनगर अस्पताल ले गत आर्थिक वर्षमा उल्लेख्य आर्थिक प्रगति गर्दै करिब २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा अस्पतालको व्यापार ५३ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। बिरामीको संख्या बढ्नु र उच्च अकुपेन्सी लेभल कायम रहनुले आम्दानीमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ।
नाफातर्फ पनि अस्पतालले राम्रो प्रदर्शन गरेको छ। गत आवमा १७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको अस्पतालले अघिल्लो वर्ष १० करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।
अस्पतालको नगद सञ्चय पनि बढेर ४४ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा २८ करोड १० लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनामै अस्पतालले १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबार गरिसकेको छ।
सन् २००८ मा ज्ञानेन्द्रमान सिंह कार्की द्वारा स्थापना गरिएको अस्पतालले ८५० शय्याको सुविधासहित विभिन्न विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, एमबीबीएस, बीएस्सी नर्सिङ, बीपीटी र बीएस्सी एएमएलटी जस्ता शैक्षिक कार्यक्रम पनि सञ्चालनमा छन्।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ४ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ, जसअन्तर्गत ४ अर्ब १५ करोड दीर्घकालीन र २५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ।









प्रतिक्रिया