प्रधानमन्त्री बालेन शाह ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफललाई निरन्तरता दिएका छन्। सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका उनले मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटघाट गरेका हुन्।
छलफलका क्रममा एमाले सांसद ऐनबहादुर महर लगायतले पार्टी अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग उठाएका थिए। तर उक्त विषयमा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया नदिएको एक सहभागी सांसदले बताएका छन्।
बैठकमा सांसद महरले कर्मचारीतन्त्रका कारण समग्र प्रणाली प्रभावित भएको भन्दै सुधार आवश्यक रहेको धारणा राखेका थिए। त्यसमा प्रधानमन्त्री शाहले कडा प्रतिक्रिया दिँदै समस्या राजनीतिक दलहरूबाटै सुरु भएको संकेत गरेका थिए।
“यसको जड नै तपाईंहरू हो, कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस्,” उनले भने।
यसैबीच, गेटा अस्पताल निर्माणको विषय उठ्दा प्रधानमन्त्री शाहले त्यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए। “गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु, कहिले गरौँ?” भन्दै उनले तदारुकता देखाएका थिए।
सांसदहरूले सेती लोकमार्ग निर्माणको विषयमा पनि चासो राख्दै कैलालीको खक्रौला नाकादेखि चीनको ताक्लाकोट सीमासम्म सडक विस्तार अघि बढाउन सुझाव दिएका थिए। उक्त प्रस्तावप्रति प्रधानमन्त्री शाहले सकारात्मक चासो देखाएको जनाइएको छ।







प्रतिक्रिया