सिरहामा गोली हानी हत्या भएको ५२ दिन बित्दा पनि दोषी पक्राउ परेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन। सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा ट्याक्टरले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको थियो।

घटनापछि प्रहरीले रामबिलास यादव र रामप्रसाद महरालाई प्रत्यक्षदर्शीको रूपमा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर २३ दिनपछि उनीहरूलाई रिहा गरिएको थियो। हालसम्म प्रहरीले हत्यामा संलग्न व्यक्तिको स्पष्ट पहिचान गर्न सकेको छैन।

मृतकका भाइ अभयनाथ यादवले अनुसन्धानमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘प्रहरीले अनुसन्धान भइरहेको छ भन्छ तर ठोस प्रगति देखिएको छैन,’ उनले भने। उनले दोषीलाई छिट्टै कारबाही गर्न र परिवारलाई न्याय दिलाउन माग गरेका छन्।

मृतकका दुई छोरा छन्, जसको भविष्यबारे परिवार चिन्तित छ। जेठो छोरा रामजन्मले बुवाको निधनपछि परिवारको सहारा गुमेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले भने घटनाको सक्रिय अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार हालसम्म १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ भने केन्द्रीय अनुसन्धान ब्युरोसँग पनि समन्वय भइरहेको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा केही महत्वपूर्ण सूचना प्राप्त भए पनि दोषीको ठोस पहिचान अझै हुन बाँकी छ। उनले ढिलाइ भए पनि अन्ततः दोषी पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन्।