अमेरिकी अदालतले इलन मस्क लाई सन् २०२२ मा ट्विटर खरिद सम्झौतासम्बन्धी विवादमा शेयरधनीहरूलाई ठगी गरेको ठहर गरेको छ।
४४ अर्ब डलरमा ट्विटर किन्ने प्रतिबद्धता जनाएपछि मस्कले सम्झौता ‘अस्थायी रूपमा रोकिएको’ भन्दै गरेका ट्विटहरूले कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। त्यसबेला ट्विटरको शेयर मूल्य प्रतिकित्ता ५४.२० डलरबाट घटेर करिब ३० डलरसम्म पुगेको थियो।
मस्कले ट्विटरमा नक्कली वा स्प्याम खाताको संख्या ५ प्रतिशतभन्दा कम भएको प्रमाणित नभएसम्म सम्झौता अघि नबढ्ने बताएका थिए। यसैबीच केही लगानीकर्ताले घटेको मूल्यमा शेयर बिक्री गरेका थिए।
तर पछि मस्कले पहिले नै सहमति गरेको मूल्यमा नै ट्विटर खरिद गरेपछि घाटा बेहोरेका लगानीकर्ताले मुद्दा दायर गरेका थिए।
क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित अदालतमा भएको सुनुवाइपछि ज्यूरीले मस्कका ती ट्विटहरूले शेयर मूल्य घटाउने प्रभाव पारेको ठहर गर्दै लगानीकर्ताको पक्षमा फैसला सुनाएको हो।
यद्यपि ज्यूरीले मस्कले नियतपूर्वक ठगी गरेको भने स्पष्ट रूपमा ठहर गरेको छैन। तर उक्त निर्णयसँगै मस्कले प्रभावित लगानीकर्तालाई क्षतिपूर्ति दिनुपर्ने सम्भावना रहेको छ।







प्रतिक्रिया