सेयर बजारमा आइतबार उल्लेखनीय उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज का अनुसार नेप्से परिसूचक ५४.५१ अंक (१.८९ प्रतिशत) ले बढेर २९३१.५५ विन्दुमा पुगेको छ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो वृद्धि देखिएको छ। आइतबार कुल २३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन पछिल्लो ८ महिनायताकै उच्च हो। कुल ६ करोड १४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो।
आज १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७३ कम्पनीको घटेको र ८ कम्पनी स्थिर रहेका छन्। यस दिन ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर रहेका छन्।
यसैगरी होटल फरेस्ट इन, विजय लघुवित्त र एनआईसी एसिया लघुवित्त का लगानीकर्ताले पनि उच्च प्रतिफल कमाएका छन्।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा कुमारी बैंक अगाडि रहेको छ, जसको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी मा पनि उच्च कारोबार भएको छ।
क्षेत्रगत रूपमा व्यापार समूह बाहेक सबै उपसूचकहरू बढेका छन्। माइक्रोफाइनान्स समूह ४.२१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ३.०५, वाणिज्य बैंक २.४९, विकास बैंक २.४६ र फाइनान्स समूह २.१३ प्रतिशतले उकालो लागेको छ।









प्रतिक्रिया