नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्दै छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने बताइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन पार्टी केन्द्रीय कार्यालयले अनुरोध गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आजको बैठकमा समानुपातिक सांसदको नाम टुंगो लगाइने जानकारी दिएका छन्। उनका अनुसार अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गरिने समानुपातिक सदस्यको नाम तय गर्नु नै हुनेछ।







प्रतिक्रिया