Nepal Rastra Bank ले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सकिने सुविधा दिएको छ। यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न सक्नेछन्।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, “यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन।”
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चालू पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोड रुपैयाँसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म) चालू पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा पनि आवश्यकता देखिएमा ‘स्थायी चालू पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालू पूँजी कर्जा प्रदान गर्न सक्नेछन्।
यस्तै, चालू पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १० प्रतिशत रहेको थियो।









प्रतिक्रिया