गगन थापाले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद जितजंग बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सांसदहरूबीचको परिचयात्मक अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो माग गरेका हुन्।

सांसद बस्नेतले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गरे। उनले विशेष महाधिवेशनबाट ‘सेटिङ’का आधारमा पार्टी क्याप्चर गरिएको आरोप पनि लगाए।

उनले भने, “विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो। यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोलि पनि भन्छु—निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी।”

बस्नेतले यही विशेष महाधिवेशनका कारण पार्टीले चुनावमा हार बेहोर्नुपरेको जिकिर गरे। अब पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सभापति थापाले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे।

“यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ। फेरि उठ्नुपर्ने छ। हामीमा एकता हुनुपर्‍यो। त्यो एकता भएन,” उनले भने, “गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो।”