जुम्लामा यसपटकको निर्वाचनमा माओवादी पृष्ठभूमिका नेताहरू नै फरक–फरक दलबाट प्रतिस्पर्धी बनेका छन्। २०५२ सालदेखि १० वर्ष चलेको सशस्त्र जनयुद्धमा भूमिगत भएका नेताहरू अहिले विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेर मैदानमा उत्रिएका हुन्।
माओवादी पृष्ठभूमिका प्रमुख उम्मेदवार
- नरेश भण्डारी – नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार
- मनऋषि धिताल – प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार
- बिर्खबहादुर शाही – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट उम्मेदवार
- भक्तबहादुर रावल – स्वतन्त्र उम्मेदवार
यी चारै जना विगतमा माओवादी आन्दोलनसँग जोडिएका नेता हुन्।
नरेश भण्डारी
वि.सं. २०३५ सालमा जुम्लाको गुठिचौरमा जन्मिएका नरेश भण्डारी पहिलो संविधानसभा (२०६४) मा निर्वाचित सदस्य हुन्। २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भई आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत बनेका थिए। यसपटक उनी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
मनऋषि धिताल
मनऋषि धिताल सशस्त्र जनयुद्धका बेला ‘कलम’लाई हतियार बनाउँदै परिवर्तनको पक्षमा उभिएका नेता मानिन्छन्। जनयुद्धताका ‘जनादेश साप्ताहिक’का सम्पादक कृष्ण सेन इच्छुक बेपत्ता पारिएपछि र हत्या भएपछि धितालले पत्रिकाको सम्पादकीय जिम्मेवारी सम्हालेका थिए।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति सुरु गरेका धिताल पछि पार्टी एकतामा सहभागी नभई जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भए।
बिर्खबहादुर शाही
५४ वर्षीय बिर्खबहादुर शाही जुम्लाको हिमा गाउँपालिका धाँचुगाउँ निवासी हुन्। उनी पनि लामो समय माओवादी आन्दोलनसँग आबद्ध रहेर सक्रिय राजनीति गर्दै आएका छन्।
भक्तबहादुर रावल
४७ वर्षीय भक्तबहादुर रावल तातोपानी गाउँपालिका निवासी हुन्। सशस्त्र जनयुद्धमा सहभागी भएका उनी यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्।
अन्य उम्मेदवार
जुम्लाबाट कुल १० जना उम्मेदवार छन्।
- नेपाली कांग्रेसबाट दीपबहादुर शाही
- नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट शान्तिलाल महत
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनीता कठायत (पूर्व समानुपातिक सांसद)
- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), जो यसअघि जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
जुम्लामा माओवादी पृष्ठभूमिका नेताहरू विभिन्न दल र स्वतन्त्र हैसियतमा प्रतिस्पर्धामा उत्रिएकाले यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।







प्रतिक्रिया