बंगलादेशमा एनसीपीको कमजोर प्रदर्शन, पुनः मतगणनाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बंगलादेशमा विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले हालै सम्पन्न निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको देखिएको छ।

मतगणना जारी रहेकाले एनसीपीले जितेको सिट संख्याबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक विवरण सार्वजनिक भएका छन्। Dhaka Tribuneका अनुसार पार्टीले हालसम्म ४ सिट जितेको र एक सिटमा अग्रता लिएको छ। तर CNN र Reutersले भने ५ सिट जितेको उल्लेख गरेका छन्। सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो।

अपेक्षित सफलता हात नलागेपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको समाचार BBCले प्रकाशित गरेको छ।

विद्यार्थी आन्दोलनदेखि पार्टी गठनसम्म

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पदच्युत भएकी थिइन्। त्यसपछि एनसीपी गठन भएको थियो। आन्दोलनका चर्चित अनुहारमध्ये नाहिद इस्लामले पार्टीको नेतृत्व गरिरहेका छन्।

एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ। पार्टीले युवाका लागि रोजगारी, हिंसापीडितका लागि न्याय र संस्थागत सुधारजस्ता मुद्दा उठाएको थियो।

आन्दोलन र सत्ता परिवर्तन

जुलाई २०२४ मा सरकारी जागिरमा रहेको आरक्षण व्यवस्थाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन क्रमशः भ्रष्टाचार र सरकारी दमनविरुद्धको व्यापक विद्रोहमा परिणत भएको थियो। आन्दोलन चर्किंदै जाँदा सरकार आन्दोलनकारीविरुद्ध कडा रूपमा प्रस्तुत भएको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार सो आन्दोलनका क्रममा झण्डै १४ सय मानिसको ज्यान गएको थियो, जसमा अधिकांश विद्यार्थी र युवा थिए। आन्दोलन तीव्र बनेपछि शेख हसिना देश छाडेर भारत गएकी थिइन्।

त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले हालै निर्वाचन गराएको हो। शेख हसिनाको दलमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन।