ताप्लेजुङ – प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छन्।
शुक्रबार पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै उनले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभई देशको भविष्य कोर्ने महत्वपूर्ण निर्वाचन भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता कायम गर्दै भविष्यका लागि मानक स्थापित हुने गरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन दिइन्।
आगामी निर्वाचनले राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले सबैमा गम्भीरता र जिम्मेवारीबोध आवश्यक रहेको उनले बताइन्।
निर्वाचन तयारीका लागि हिमालीदेखि सबै क्षेत्रको जानकारी लिइसकेको उल्लेख गर्दै उनले तोकिएको समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त रहेको बताइन्।
सो क्रममा ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंलगायत सुरक्षा अधिकारीहरूले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारीका अनुसार ९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा एक मात्र निर्वाचन क्षेत्र छ भने दुई अस्थायीसहित ८२ मतदानस्थल तोकिएका छन्। तीमध्ये चार मतदानस्थल भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा रहेका छन्।







प्रतिक्रिया