वीरगन्जमा अवैध गोदाममा छापा: तस्करको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० मा रहेको एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। घटना माघ २६ गते सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा भएको हो।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज तथा वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्न छापा मारेको थियो।

छापाका क्रममा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरिएको थियो। तर कपडा बरामद गरेपछि तस्कर समूह आक्रमणमा उत्रिएर ढुंगामुढा प्रहार गरेका थिए।

तस्करको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ भने तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको अवस्था सामान्य रहेको बताइएको छ।

बरामद गरिएको कपडा तथा अन्य सामग्री सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।