अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुन्छ : इरानका सर्वोच्च नेता खामेनेई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्धमा परिणत हुने चेतावनी दिएका छन्। अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति विस्तार गरिरहेका सन्दर्भमा तेहरानमा आयोजित कार्यक्रममा बोल्दै खामेनेईले यस्तो चेतावनी दिएका हुन्।

‘यदि यस पटक उनीहरूले युद्ध सुरु गरे भने त्यसले क्षेत्रीय युद्धको रूप लिनेछ,’ खामेनेईले भने। उनले अमेरिका इरानका विशाल तेल तथा प्राकृतिक ग्यास स्रोतहरू कब्जा गर्न चाहिरहेको आरोपसमेत लगाए।

त्यसैगरी, खामेनेईले हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘कू’ को संज्ञा दिँदै ती गतिविधि योजनाबद्ध रहेको दाबी गरे। उनका अनुसार प्रदर्शनकारीहरूको उद्देश्य देश सञ्चालनसँग जोडिएका संवेदनशील र प्रभावकारी केन्द्रहरू ध्वस्त पार्नु थियो, जसक्रममा प्रहरी, सरकारी कार्यालय, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका संरचना, बैंक तथा मस्जिदहरूमा आक्रमण गरिएको थियो।