पर्वतको प्रदेश अस्पताल स्वास्थ्य बिमा रकम नपाउँदा सङ्कटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत — लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल संकटमा परेको छ। स्वास्थ्य बिमा भएका बिरामीको उपचार गर्दै आएको अस्पतालले गत आर्थिक वर्षदेखि तीन करोडभन्दा बढी रकम भुक्तानी पाउन सकेको छैन।

प्रधान मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले बताए अनुसार स्वास्थ्य बिमाबापतको रकम समयमा नआउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब र भत्ता भुक्तानी, र अन्य नियमित कार्यमा समस्या आएको छ। उनले भने, “स्वास्थ्य बिमा गरेका बिरामीहरू सामान्य समस्या परे पनि सेवा पाउँछन्, तर सरकारले समयमै भुक्तानी नगर्दा आवश्यक औषधि, सहयोग सामग्री र ल्याब सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको छ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए अनुसार जिल्लामा स्वास्थ्य बिमामा आवद्ध झन्डै ४५ प्रतिशत नागरिकले यही अस्पतालबाट सेवा लिने गरेका छन्। सरकारले तोकेको दररेट अनुसार रकम दिने भए पनि भुक्तानी समयमै नपुग्दा अस्पतालको आर्थिक सङ्कट बढिरहेको छ।

हालै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले अस्पतालको निरीक्षणका क्रममा बिमा रकम भुक्तानीको मागसमेत सुनिन्। मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम पाउन नसक्दा समस्या भएको र सरकारले विभिन्न स्रोतबाट बजेट व्यवस्थापनमा लागेको जानकारी दिइन्।