काठमाडौं — नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने विषयमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ।
गृह मन्त्रालयले साइबर ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा रहेको कूल ४ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा तथा त्यसमा निर्मित भवन महानगरपालिकाले प्रयोग गर्ने गरी निर्णय गरेको हो।
यसको बदलामा काठमाडौं महानगरपालिका रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी २ पैसा ३ दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सहमत भएको छ।
आइतबार गृह मन्त्रालयमा भएको दुईपक्षीय छलफलपछि उक्त सहमति भएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए। उनका अनुसार जग्गा नेपाल सरकारको नाममा दर्ता भएपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा संरक्षण कम्पनी कार्यालयका लागि प्रयोग गरिने र बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने व्यवस्था गरिनेछ।
यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्यूरोको भवनमा वडा कार्यालय सञ्चालन गर्न माग गर्दै आएको थियो। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहले गर्ने कानुनी व्यवस्था अनुसार सम्बन्धित निकायसँग समन्वय गरी गृह मन्त्रालयबाट सहमति लिइएको मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया