फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अब ठूला टोलीको सट्टा थोरै तर उच्च दक्ष जनशक्ति र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत काम गर्ने नयाँ रणनीति अघि सारेको छ। कम्पनीका कार्यकारी प्रमुख (सीईओ) मार्क जुकरबर्गका अनुसार एआई उपकरणको सहयोगमा अब एकै जना कर्मचारीले पहिले पूरै टिमले गर्ने काम गर्न सक्ने अवस्था सिर्जना हुँदैछ।
लगानीकर्ताहरूसँगको हालैको छलफलमा जुकरबर्गले व्यक्तिगत योगदानकर्ताहरूलाई सशक्त बनाउने र टिमहरूलाई सानो तथा छरितो बनाउने लक्ष्यसहित एआई–नेटिभ उपकरणमा ठुलो लगानी भइरहेको जानकारी दिए। उनले एआईको प्रयोगले उत्पादकत्वमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै प्रतिभाशाली व्यक्तिहरूका लागि मेटालाई आकर्षक कार्यस्थल बनाउने लक्ष्य रहेको बताए।
खर्च प्राथमिकतामा पनि मेटाले व्यापक परिवर्तन गरेको छ। बिजनेस इन्साइडरका अनुसार कम्पनीले यस वर्ष एआई क्षेत्रमा आफ्नो खर्च ६० देखि ८७ प्रतिशतसम्म बढाउने योजना बनाएको छ। गत वर्षदेखि नै एजेन्टिक कोडिङजस्ता एआई प्रविधिको प्रयोग बढेसँगै इन्जिनियरहरूको कार्यक्षमतामा उल्लेख्य सुधार देखिएको मेटाको भनाइ छ।
यो प्रवृत्ति मेटामा मात्र सीमित छैन। ओपनएआईका सीईओ साम अल्टम्यानले भविष्यमा १० जना कर्मचारी भएका कम्पनीहरूले समेत अर्बौं डलरको मूल्याङ्कन पाउन सक्ने बताएका थिए। यस्तै गुगल, अमेजन र इन्टेलजस्ता ठूला कम्पनीहरूले पनि व्यवस्थापकीय तह घटाउँदै सङ्गठनलाई सानो र चुस्त बनाउने नीति अपनाइरहेका छन्। हालै अमेजनले १६ हजार कर्पोरेट कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।
मेटाकी प्रमुख वित्तीय अधिकृत सुसान लीका अनुसार टिम सानो बनाउने लक्ष्य भए पनि दक्ष एआई जनशक्तिको माग भने तीव्र रूपमा बढिरहेको छ। गत डिसेम्बरसम्म मेटाको कुल कर्मचारी सङ्ख्या ६ प्रतिशतले वृद्धि भएको छ, जसमा मुख्य रूपमा मनिटाइजेसन, पूर्वाधार र नियमनसम्बन्धी क्षेत्रमा नयाँ नियुक्ति गरिएको छ।
यद्यपि, कम्प्युटिङ स्रोतको अभावजस्ता चुनौतीहरू रहेको जुकरबर्गले स्वीकार गरेका छन्। तर सन् २०२६ सम्ममा एआईले काम गर्ने शैली र सञ्चालन प्रक्रियामा नाटकीय परिवर्तन ल्याउने उनले दाबी गरेका छन्। मेटाको यो कदमले प्रविधि उद्योगमा अब ‘धेरै कर्मचारी’ भन्दा ‘थोरै तर दक्ष जनशक्ति + एआई’ मोडेल हाबी हुँदै गएको संकेत गरेको छ।







प्रतिक्रिया