राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आजदेखि माघ २१ गतेसम्म जापान भ्रमण गर्नेछन्।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल एयरलाइन्सको उडानमार्फत जापान जाने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कनेछन्।
भ्रमणका क्रममा माघ २० गते राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। सोही दिन उनले जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग पनि भेटवार्ता गर्नेछन्।
यसैगरी, माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठक गर्ने तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा पनि सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।







प्रतिक्रिया