नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार साझा संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले बन्द कोठामा बसेर घोषणापत्र तयार पार्ने परम्परालाई छोड्दै सधैं जनतासँग सल्लाह–सुझाव संकलन गर्ने प्रक्रिया अपनाएका छन्। यसका लागि उनले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै मतदातालाई योजना, सुझाव र प्राथमिकताका विवरण भर्न आग्रह गरेका छन्।
चौधरीले भने, “मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सबैको सहकार्य आवश्यक पर्छ। चुनावी संकल्पपत्र बन्द कोठामा होइन, तपाईंहरूको माझमा आएर तयार पार्न चाहन्छु। तपाईंहरूको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।”
उनले यो अभियानले राजनीतिमा जनताको भूमिका केवल मतदानमा मात्र सीमित नराखी नीति निर्माणसम्म पुर्याउने अपेक्षा राखेको बताए। गाउँ–टोलका समस्या स्थानीय बासिन्दाले सबैभन्दा राम्रोसँग बुझ्ने भएकाले विकास योजनामा सबैको सहभागिता अनिवार्य रहेको उनले उल्लेख गरे।







प्रतिक्रिया