संगीत दुनियाँकै सबैभन्दा प्रतिष्ठित अवार्ड शो ग्रामी अवार्ड २०२६ यसै साता अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ । यो ग्रामीको ६८औँ संस्करण हो, जहाँ ग्ल्यामर, विश्वप्रसिद्ध कलाकार र दमदार लाइभ पर्फमेन्सको भव्य प्रस्तुति देख्न पाइनेछ ।
ग्रामी अवार्ड नेपाली समयअनुसार फेब्रुअरी २ सोमबार बिहान ६:४५ बजे सुरु हुनेछ । कार्यक्रम डिज्नी प्लस हटस्टार र स्टार मुभिज च्यानलमा प्रत्यक्ष प्रसारण हुनेछ । अमेरिकासहित अन्य देशमा दर्शकले सीबीएस च्यानलमार्फत राति ८ बजेदेखि ११:३० बजेसम्म हेर्न सक्नेछन् भने प्यारामाउन्ट प्लसमा प्रिमियम प्रयोगकर्ताका लागि लाइभ स्ट्रिम उपलब्ध हुनेछ ।
यस वर्ष पनि चर्चित कमेडियन ट्रेभर नोआ नै होस्ट रहनेछन् । सन् २०२१ देखि लगातार ग्रामी होस्ट गर्दै आएका नोआको यो अन्तिम होस्टिङ शो हुनेछ । विशेष कुरा, यसपालि उनी होस्टसँगै कार्यक्रमका कार्यकारी निर्माता पनि रहेका छन् ।
पर्फमेन्सतर्फ सबैभन्दा ठूलो आकर्षण भनेको जस्टिन बिबरको कमब्याक हो । उनी करिब ४ वर्षपछि ग्रामीको स्टेजमा फर्किँदैछन् । साथै, सबरीना कार्पेन्टर, क्याट्सआई, ओलिभिया डिन, एडिसन रे, लोला यंगलगायत नयाँ र उदाउँदा कलाकारले पनि प्रस्तुति दिनेछन् । ह्यारी स्टाइल्स र डोची कन्फर्म प्रिजेन्टरका रूपमा देखिनेछन् ।
अवार्ड प्रतिस्पर्धामा यस वर्ष र्यापर केन्ड्रिक लामार अगाडि देखिएका छन् । उनले ‘एल्बम अफ द इयर’ सहित ९ विधामा मनोनयन पाएका छन् । लेडी गागा र ज्याक एन्टोनोफ दुवैले ७–७ विधामा मनोनयन पाएका छन् भने ब्याड बनी र सबरीना कार्पेन्टर पनि बलिया दाबेदार मानिएका छन् ।
यसपालि ग्रामीमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ । पहिलो पटक ‘बेस्ट एल्बम कभर’ विधा थपिएको छ । साथै, कन्ट्री म्युजिकलाई ट्रेडिसनल र कन्टेम्पोररी गरी दुई भागमा विभाजन गरिएको छ । प्रमुख विधाहरू— रेकर्ड अफ द इयर, एल्बम अफ द इयर, सङ अफ द इयर र बेस्ट न्यु आर्टिस्ट—मा अब १० जना मनोनयन हुने व्यवस्था गरिएको छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ ।







प्रतिक्रिया