युवा संघ अध्यक्ष थेबेको बालेनलाई चुनौती: लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले ‘हुनेवाला प्रधानमन्त्री’ भन्दै बालेनलाई ती भूभागबारे स्पष्ट स्टेटमेन्ट दिन आग्रह गरे । उनले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरिसकेको स्मरण गराउँदै अब नेताहरूको स्पष्ट धारणा आवश्यक भएको बताए ।

‘हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेका छौँ कि छैनौँ ? हुनेवाला प्रधानमन्त्रीज्यू, तपाईंको स्टेटमेन्ट के हो ?’ भन्दै थेबेले आगामी आम निर्वाचनपछि नेपाली समाजलाई सुखी र समृद्धिको आधार दिने दाबी पनि गरे ।

अध्यक्ष थेबेले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेन्डा नभएको टिप्पणी गरे । एजेन्डा भए सार्वजनिक बहसमा आउनुपर्ने भन्दै उनले सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि नआएको आरोप लगाए ।

एमाले नेतृत्वमा भएका उपलब्धि उल्लेख गर्दै उनले राणा कालमा ६ प्रतिशत जनतामा मात्रै विद्युत् पहुँच रहेको अवस्थामा हाल ९८ प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेको दाबी गरे । साथै, सबै सार्वजनिक विद्यालयमा आईटीको विकास गरिएको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको उनले बताए ।