बसन्तपुर डबली दक्षिणतर्फ श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बसन्तपुर डबलीको दक्षिणतर्फ जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानलाई निवास स्थलका रूपमा विकास गर्ने विषयमा साझेदार कार्यालयका अधिकारीहरूबीच सहमति खोजिएको हो ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले जग्गा प्राप्ति तथा भोगचलनसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, गुठी संस्थानका सदस्य सचिव शैलेश कुँवर, शार्दुलजंग गुल्मका गुल्मपति सुमननरसिंह मल्ल, सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठलगायत सहभागी थिए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले जग्गा प्रदान गर्ने विषयलाई विश्वविद्यालयको निर्णय प्रक्रियामा लैजाने जानकारी दिए । ‘त्रिवि कार्यकारी परिषद्बाट यस विषयमा निर्णय गर्छौं,’ उनले भने ।

गुठी संस्थानका सदस्य सचिव कुँवरले इन्द्रजात्राका समयमा गुडाइने रथ पुनर्निर्माण गर्ने विषयमा संस्थानले निर्णय गरिसकेको जानकारी गराए । सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण गर्ने प्रयासलाई स्थानीयबासीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए ।

उक्त स्थानमा रहेको भवन जीर्ण अवस्थामा पुगेको र जुनसुकै बेला जनधनको क्षति हुन सक्ने जोखिम देखिएपछि महानगरपालिकाले भत्काउने निर्णय गरेको थियो । वडा नं. २३ अन्तर्गत सिट नं. १०२–११०४–१२, कित्ता नं. ३४८ मा रहेको ४ आना १ पैसा २ दाम क्षेत्रफलको उक्त भवन २०७२ सालको भूकम्पपछि चर्किएको र ढल्किएको अवस्थामा थियो । बाहिरी तथा भित्री गाह्रो चर्किएको, झ्याल खसेको, छानाबाट पानी चुहिने लगायतका कारण भवन अत्यन्त जोखिमपूर्ण बनेको निष्कर्षसहित भत्काइएको हो ।

अब उक्त स्थानलाई ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व झल्किने गरी श्रीगणेश र श्रीभैरवको निवास स्थलका रूपमा विकास गर्ने तयारी अगाडि बढाइएको महानगरपालिकाले जनाएको छ ।