राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८५ वर्षसम्म पटक–पटक राजनीतिक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
राणाशासनविरुद्ध संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गर्दै बालेनले भने, ‘त्यसको १० वर्षपछि राणाशासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन । त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनुपर्यो । ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’
पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको उल्लेख गर्दै उनले भदौमा भएको जेन–जी आन्दोलनको प्रसंग समेत उठाए । सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले पनि ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।
बालेनले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताए । राज्यका निकायमा बढ्दो दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
‘यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ उनले भने, ‘अब समय आएको छ– शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।’
उनले सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै फेरि कसैले शहीद बन्न नपरोस् भन्ने कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।







प्रतिक्रिया