बारामा दुई जनाको हत्या प्रकरणः बुहारी र प्रेमीको संलग्नता खुलेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाराको परवानीपुर गाउँपालिकामा भएको दुई जनाको हत्या घटनामा बुहारी मनिता देवी मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतोको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मनिता देवी र धर्मेन्द्रबीच प्रेम सम्बन्ध रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनाको योजना बनाइ कार्यान्वयन गर्नकै लागि युएईमा रहेका धर्मेन्द्रलाई नेपाल बोलाइएको खुलेको छ। उक्त कुरा धर्मेन्द्रको परिवारलाई समेत जानकारी नभएको प्रहरीको भनाइ छ।

घटना सोमबार बिहान परवानीपुर गाउँपालिका–१ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा भएको थियो। घरमा प्रवेश गरी सुतेका परिवारमाथि आक्रमण हुँदा जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्।

घटनापछि फरार रहेका धर्मेन्द्र महतोलाई प्रहरीले विश्रामपुर गाउँपालिका–४ स्थित मुसहर्वा नाकाबाट भारततर्फ भाग्ने क्रममा नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।